लिवियामा कर्णेल गद्धाफीको पतनपछि विद्रोहीहरुले ब्यापक रुपमा मानवअधिकार उल्लंघन गर्न थालेको आरोप अन्र्तराष्ट्रिय मानवअधिकारवादी संस्था एमनेष्टी इृन्टरनेशनलले लगाएको छ । एमनेष्टीले विद्रोहीले गद्धाफी समर्थकलाई बदला लिने बहानामा हत्या र बलात्कार तीब्र पारेको आरोप लगाएको छ ।
एमनेष्टीले विद्रोहीको राष्ट्रिय संक्रमणकालीन परिषद एनटीसीलाई बढ्दो मानवअधिकार उल्लंघनका घटना तत्काल रोक्न अपील गरेको छ । एमनेष्टीले गद्धाफीका फौजले जस्तै विद्रोहीले पनि यातना र हत्याको बाटो अवलम्बन गर्नु आपत्तिजनक भएको बताएको छ । यसैबीच, कर्णेल गद्धाफीले टेलिभिजनबाट संदेश दिदै विद्रोही सामु नझुकि विजय प्राप्त नभएसम्म लड्न समर्थकहरुलाई अपील गरेका छन् । गद्धाफीका धेरै नातेदार विदेश भागेपनि उनी कहां छन् भन्ने बारेमा भने कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
उता, एनटीसीका नेता मोहम्मद अब्दुल जलिले त्रिपोलीमा पहिलोपल्ट सार्वजनिक रुपमा सम्बोधन गर्दै आधुनिकतामा आधारित ईस्लामिक अबधारणामा प्रजातान्त्रिक देश निर्माण गर्न आब्हान गरेका छन् ।
गद्धाफी समर्थकको कडा प्रतिरोध सामना गर्न परेपछि विद्रोहीले बानी वालिदमा आक्रमण केही समय स्थगित गरेका छन् ।