भट्टराईकै नेतृत्वमा शान्ति र संविधान निर्माण हुने भारतिय जनता पार्टी को भनाइ

एजेन्सी – भारतको विपक्षी दल भारतीय जनता पार्टीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा नेपालमा शान्ति र संविधान निमार्ण हुने विश्वास ब्यक्त गरेको छ ।
भाजपा अध्यक्ष नितिन गडगडी, बरिष्ठ नेताहरु लालकृष्ण आडवाडी लगायतको प्रतिनिधिको रुपमा नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख विजय जोलीले प्रधानमन्त्री भट्टराईलाई भेटी यस्तो बताउनु भएको हो । नेपालका राजनीतिक दल र नेताहरु यहाँको समस्या समाधान गर्न क्षमतावान भएको उहाँको भनाई छ ।
जोलीले भारतले नेपालको राजनीतिमा कुनै प्रकारको हस्तक्षेप नगर्ने भन्दै उहाँले नेपालको विद्यमान समस्या समाधान गर्न सहयोग र सदभावमात्र जारी राख्ने बताउनु भयो ।
भाजपा विदेश विभाग प्रमुख जोलीले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो समेत दिनुभएको थियो । भेटमा प्रधानमन्त्री डा. भट्टराईले आफ्नो कार्यकालमा नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्दै सम्बन्ध सुधारको पहल गर्ने बताउनुभएको थियो ।
उहाँले आफ्नै नेतृत्वमा शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा हुने दृढता ब्यक्त गर्नुभएको थियो । तीन महिनाभित्र सहमतिमै शान्ति प्रक्रिया र संविधान लेखन कार्य टुङ्गयाउन आफू लागि परेको भन्दै प्रधानमन्त्री डा. भट्टराईले अमेरिका भ्रमणबाट फर्किएपछि शान्ति प्रक्रियामा महत्वपुर्ण उपलब्धि हासिल हुने बताउनु भएको छ ।
जोलीले आइतबार नै राष्ट्रपति डा रामवरण यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ भोली मध्याहृन स्वदेश र्फकनु हुनेछ ।