देशभरि भुकम्पको ठूलो धक्का/भूकम्पका कारण मर्नेको संख्या आठ पुग्यो३० भन्दा बढी घाइते

भूकम्पका कारण मर्नेको संख्या आठ पुग्यो
आइतबार साँझ गएको भूकम्पका कारण भएको मानवीय क्षतिको विवरण आउने क्रम जारी छ ।
भूकम्पका कारण भक्तपुर र धनुटामा गरी थप दुईजनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पका कारण होस गुमाएकी भक्तपुर गठ्ठाघरकी ६५ वर्षीया लिला पौडेलको गएराति उपचारका क्रममा ज्यान गएको हो । गठ्ठाधरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा उनको राति मुत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । यस्तै घर भत्किएर पुरिँदा धनकुटा फलाँटे-५ की ४० वर्षीया मधु कार्कीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यो सँगै भूकम्पबाट ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।
यसअघि आइतबार काठमाडौँको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किएर च्यापिँदा घाइते भएका गोरखा भुम्लिचोकका ३६ वर्षीय साजन श्रेष्ठ, उनकी छोरी ८ वर्षीया अनिशा र सिन्धुलीका वीरबहादुर माझीको मनमोहन अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । यस्तै सुनसरीको धरान नगरपालिका-१३ फुस्रेमा भाग्दै गर्दा घरको पर्खाल भत्किएर चेपिँदा ओखलढुंगा कटुन्जेका २० वर्षीय सन्तोष परियार र उनका भतिजा ७ वर्षका विमल परियार तथा नुम गाविस-१ का संखुवासभाका लहप्रसाद राईका ५ वर्षीय छोरा प्रदीप राईको मृत्यु भएको थियो ।
आइतबार साँझ ६ बजेर २६ मिनेट जाँदा भारतको सिक्किम केन्द्रबिन्दु बनाई ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण करिब पाँच दर्जन घाइते भएका छन् । भारतमा पनि भूकम्पमा परी १३ जनाको ज्यान गएको छ । भूकम्पका कारण पहिरो खसेर धरान-धनकुटा राजमार्गको भेडेटार-मालबासे सडकखण्ड अबरुद्ध भएको छ । संखुवासभा सदरमुकाम खादबारीस्थित जिल्ला प्रहरी कार्यालयको सञ्चार भवन,बाणिज्य बैंक, र हिमालय उच्च माविको भवनसहित एक दर्जनभन्दा बढी भवनहरु भत्किएका छन । भूकम्पले भारतको सिक्किमा ७, दार्जिलिङमा ३ बिहारमा २ र सिलिगुडीमा एक गरी १३ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का भारतको आसाम, मेघालय, त्रिपुरा, पश्चिम बंगाल राजधानी नयाा दिल्ली सहित भूटान र बंगालादेशका केही क्षेत्रमा पनि महसुस गरिएको थियो ।
शक्तिशाली भूकम्पबाट ६ जनाको मृत्यु
आइतबार साँझ काठमाडौंसहित देशका विभिन्न स्थानमा गएको शक्तिशाली भूकम्पमा परि काठमाडौंमा ३, सुनसरीको धरानमा दुई र ताप्लेजुङमा एक गरि ६ जनाको मृत्यु भएको छ । साँझ ६ बजेर २५ मिनेट ४८ सेकेण्डमा ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको भूगर्भ तथा खानी विभागले जनाएको छ ।
काठमाडौं प्रहरीका अनुसार बेलायती दूताबासको पर्खाल भत्किएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुम्लिचोक ६ गोर्खाका ३६ बषिर्य साजन श्रेष्ठ र उनकी ८ बषिर्या छोरी अनिसा श्रेष्ठ र सिन्धुली मरिनखोलाका करिव १९/२० बषर्ीय बीरबहादुर माझी रहेका छन । यसैगरि सुनसरीको धरानमा घर भत्किएर बिमल परियार र सन्तोष परियारको ज्यान गएको छ । यस्तै ताप्लेजुङमा घर भत्किएर एक महिलाको मृत्यु भएको छ । उनको नाम खुल्न सकेको छैन । साँझपख भूकम्प गएकाले क्षतिका विवरण आउन कठिनाई भइरहेको अधिकारीहरुले बताएका छन् ।
भूकम्प आएपछि भागदौड गर्दा काठमाडौंमा दर्जनौंको संख्यामा घाइते भएका छन् । मनमोहन अस्पतालमा रमेश गुरुङ, रितिका तामाङ र सविरा घिमिरेको उपचार भइरहेको छ भने वीर अस्पताल र पाटन अस्पतालमा दर्जनौं घाइते उपचाररत रहेको बताइएको छ । उनीहरु धिकांशको खुट्टा भांचिएको अस्पतालले जनाएका छन् ।
संखुवासभामा एक प्रहरी जवान घाइते भएका छन् । प्राप्त समाचार अनुसार पार्साको रानीगंज दरवार भत्किएको छ भने लमजुङको बाहुन डाँडामा एक घर भत्किएको छ । ताप्लेजुङका थुपै घर भत्किएको छ । संखुवासभामा जिल्ला विकास समिति, प्रहरी र बाणिज्य बैंकको कार्यालयसहित १६ घर भत्किएका छन भने भक्तपुरमा सात बटा घरमा क्षति पुगेको छ ।
भूकम्पको धक्काको स्तर देखाउने तस्वीरः अमेरिकी भूगर्भ विभाग
भूकम्पको केन्द्रविन्दु भारतको सिक्किमको सिमा जोडिएको ताप्लेजुङको पूर्वी सिमा रहेको भूगर्भविद पृथ्वी श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी भूगर्भ विभागले जारी गरेको तस्वीर अनुसार भूकम्पको केन्द्रविन्दु सिक्किमसँग सिमा जोडिएको ताप्लेजुङ देखाएको छ । भूगर्भ बिभागले एक घण्टामा करिव १६ पटक सानो ठूलो धक्का गएको जनाएको छ । सुरुमा ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको बताएको अमेरिकी भूगर्भ विभागले यो समाचार तयार पार्दा ६ दशमलव ९ रिक्टर स्केल बताएको छ ।
आइतबारको भूकम्प वि. सं. १९९० सालपछिको सबै भन्दा ठूलो भूकम्प भएको भूगर्भ तथा खानी विभागले जनाएको छ । ९० साल माघ २ गते ८ दशमलव ४ रिक्टर स्केलको भूकम्प जाँदा ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो भने २ लाख ७ हजार ७ सय ४० संरचना भत्किएको थियो । २०४५ साल भदौ ५ गते ६ दशमलव ६ रिक्टर स्केलको भूकम्प जाँदा ७ सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्किएको थियो ।
भूकम्पले राजधानीमा घरहरु हल्लिएका थिए । त्यसपछि सार्वसाधारण अत्तालिंदै घर बाहिर भागाभाग भएको थियो । लामो समयपछि काठमाण्डौंमा भूकम्पको धक्का महसुस गरेकाहरु भूकम्प आएको हो कि हैन यनिक गर्न नसकि झ्यालबाट चियाइरहेका देखिन्थे । भूकम्पको धक्का सहसुस गर्दा संसद भवनमा रहेका सभासदहरुबीच पनि भागाभाग भएको थियो । त्यसक्रममा सभामुखले १५ मिनेट संसद बैठक स्थगित गर्नु भएको थियो । बजेट पास गर्न संसद वैठक बसिरहेको थियो ।
भुकम्पको धक्का चित्रमा
 चित्रमा दिइएअनुसार गाढा पहेँलोले भुकम्पको कडा धक्का लाई जनाउँछ र निलो रंगले कमजोर धक्का देखाउँछ ।
अमेरिकी भूगर्भ विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालका विराटनगर, विरगंज, काठमाडौं र बागलुङ लगायतका क्षेत्रमा भुकम्पको कडा धक्का महसुस गरिएको छ । पूर्वी क्षेत्र भन्दा पश्चिमी क्षेत्रमा भुकम्पको धक्का कमजोर छ । भारतको सिलिगुडी, गान्तोक र बोलपुरमा भुकम्पको सबैभन्दा कडा धक्का छ ।
सरकारले पिडितलाई राहत दिने
सरकारले भुकम्प पिडितहरुलाई राहत दिने भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले क्षतिको विवरण संकलन गरी पीडितलाई राहत दिने निर्णय गरेको हो । यस्तै माओवादीले घटनाप्रति दुःख व्यक्त गर्दै भूकम्पबाट भएको क्षतिको छिटोभन्दा छिटो मूल्यांकन गर्दै भूकम्प पीडित सबैलाई तत्काल राहत उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।
वेखवर भूगर्भ बिभाग
भूकम्प नाप्ने सरकारी अड्डा अर्थात भूगर्भ तथा खानी बिभाग भने भुकम्प गएको गएको करिव दुई घण्टासम्म वेखवर रह्यो । राती नौ बज्ने बेला फोन उठाएका बिभागका कर्मचारीले १६ पटक धक्का गएको बाहेक कुनै जानकारी आफुसँग नभएको बताए । यो बारेमा हामीलाई जानकारी छैन हजुर, गृह मन्त्रालयतिरै सोध्नुस न