अर्घाखाँचीमा विभिन्न कार्यक्रमहरु गरी विश्व शान्ति दिवस मनाइयो

– हरि प्रसाद भुसाल
यूएई डेस्क – ३० औं विश्व शान्ति दिवस असोज ४ गते अर्घाखाँची जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँची तथा स्थानीय शान्ति समिति अर्घाखाँचीको संयुक्त आयोजनामा आज सन्धिखर्कमा प्रभातफेरी तथा प्रवचन कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मन्तव्य राख्नेहरुले स्थाई शान्ति कायम गर्न सवै आ-आफ्नो तहबाट जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी घिमिरेले शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको खण्डमा मुलुक भयाभह दुर्घटना जानसक्ने आशंका व्यक्त गरे । उनले शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍यएमा मात्र देश विकासको बाटोमा अगाडी वढ्न सक्ने उल्लेख गरे ।
कार्यक्रममा मन्तव्य राख्दै एकीकृत नेकपा माओवादीका नेता बाबुराम सुनारले आफ्नो  पार्टी भित्र केही अन्तरद्धन्द्ध भएको भएपनि आफुहरु शान्ति प्रक्रिया तात्विक प्रक्रियामा पुर्‍याउन प्रतिवद्ध रहेको बताए । 
मन्तव्य राख्दै नेपाली जनता दलका जिल्ला अध्यक्ष हरि प्रसाद भुसालले पार्टीको रवैया देख्दा शान्ति प्रक्रिया सम्पन्न हुनेमा आशावादी रहने ठाउँ नरहेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै समितिका पुर्व अध्यक्ष सागर के.सीले शान्ति प्रक्रिया सफल पार्नका लागि प्रमुख दलहरु जिम्मेवार नभएको आरोप लगाए । 
त्यसैगरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले दलहरु जिम्मेवार भएर लागिरहेका कारण शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रम स्थानीय शान्ति समितिका अध्यक्ष विष्णुप्रसाद खनालको सभापतित्व र समिति सदस्य जगन्नाथ भुसालको सञ्चालनमा सम्पन्न भएको  थियो ।