प्रख्यात गजल गायक जगजित सिंहलाई ब्रेन ह्यामरेज भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ती गरिएको छ। उनको अवस्था सिकिस्त रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
चिकित्सकहरुले ७० वर्षीय गायक सिंहको लामो समयदेखि मुटुमा रहेको समस्याका कारण ब्रेन ह्यामरेज भएको हुनसक्ने अनुमान गरेका छन्।
चिकित्सकहरुले उनलाई बचाउन शल्यक्रिया गरिरहेका छन्। अहिले ट्विटर उनलाई स्वास्थ्य लाभको कामना गर्नेहरुबाट भरिएको छ।
उनको शुक्रबारै मुम्बईमा कन्सर्ट थियो।
सन् १९९८ मा उनलाई हर्ट अट्याक भएको थियो। त्यसपछि उनले धूमपानको लत छाडेका थिए।
जगजितले नेपाली गीतहरु पनि गाएका छन्। ‘कुन माया सदर भो, मेरो माया बदर भो’ बोलको राजेश हमालद्वारा अभिनित म्युजिक भिडियोसहितको उनको गजल निकै प्रख्यात छ।
जगजित सिंहको स्वर रहेको पहिलो नेपाली एल्बम झुल्केको घाम पनि चार वर्षअघि बजारमा आएको थियो। एल्बममा आलोकश्रीको संगीत र जेबी संयोगीको संगीत छ।