फिलिपिन्समा शक्तिशाली समुन्द्री आँधीपछिको बाढीका कारण राजधानी मनिलाको जनजीवन अस्तव्यस्त भएको छ । निसाट नामक आँधीमा परी कम्तिमा सात जनाको मृत्यु भएको भने चार जना हराइरहेको प्रारम्भिक खबर छ । मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । अल्वे प्रान्तका करिब १ लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
आँधीका कारण शहरमा विद्युत सेवा अवरुद्ध भएको छ भने सडकहरु जलमग्न छन् । सयौं हवाई उडान रद्द गरिएको छ । मनिलामा सरकारी कार्यालय, शिक्षण संस्थाहरु , स्टक एक्सचेन्ज कार्यालय र अमेरिकी दुतावास बन्द गरिएको छ । मानिसहरुलाई घर बाहिर ननिस्कन सचेत बनाइएको छ । आँधीको प्रभाव अरु क्षेत्रमा पनि फैलन सक्ने मौसमविद्हरुले जनाएका छन् ।
फिलिपिन्समा दुई वर्ष अघि आएको केट्साना आँधीका कारण करिव ४ सय जनाको मृत्यु भएको थियो ।