बंगलदेशको राजधानी ढाकामा मागेर जीवन गुजारेका ब्यक्तिहरुको सर्वेक्षण गरिने

 बंगलदेशको राजधानी ढाकामा मागेर जीवन गुजारेका ब्यक्तिहरुको सर्वेक्षण गरिने भएको छ । राजधानी ढाकामा रहेको एक करोड २० लाख जनता मध्ये ४० हजार व्यक्ति मागेर खान बाध्य छन् । माग्नेको तथ्यांक संकलन गरी वैकल्पिक उपाय खोज्ने उद्देश्यले सर्वेक्षण थालिएको बंगलादेश सरकारले जनाएको छ ।

 

सर्वेक्षणका लागि १० वटा गैर सरकारी संस्थाका प्रतिनिधिलाई जिम्मा दिइएको छ ।

 

विभिन्न गाउँका गरीब जनता जिविकोपार्जनका लागि राजधानी ढाका आउने र मागेर बस्ने गरेकाले बैकल्पिक उपाय खोज्न बंगलादेशले यो कदम चालेको हो । सर्वेक्षणपछि गाउँका बासिन्दालाई गाउँमा नै सानातिना ब्यबसाय सन्चालनका लागि उपाय पहिल्याउने सरकारको लक्ष्य छ ।

 

सर्वेक्षणको मानवअधिकारवादी संस्थाहरुले बिरोध जनाएका छन् । ढाकामा माग्न प्रतिबन्ध लगाइएकाले उनीहरुमाथि सजायँ हुनसक्ने भन्दै मानवअधिकारबादीले सर्वेक्षणको बिरोध गरेका हुन् । सरकारले भने माग्नेहरुले सर्वेक्षणमा भाग लिएमा उनीहरुलाई नपक्रने स्पष्ट पारेको छ ।