यमनमा सक्रिय अल कायदाका उच्च नेता अनवर अल अवलाकी मारिएपछि विश्वभर आतंकवादी आक्रमणको सम्भावना बढेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयले अमेरिका विरुद्ध आफ्ना समर्थकलाई अल कायदाले जवाफी कारवाही गर्न प्रेरित गर्न सक्ने भन्दै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । गत वैशाख १९ गते ओसामा विन लादेन मारिएपछि पछि अमेरिकाले यस्तै चेतावनी जारी गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले अवलाकी र अल कायदाका दोस्रा नेताहरुले यसअघि अमेरिकी नागरिका विरुद्ध आक्रमण गर्न आह्वान गरिसकेको पनि उल्लेख गरेको छ । अमेरिकाले सर्वाधिक खोजेको अवलाकी यमनमा अलकायदाको पकड क्षेत्र मानिने मारिब प्रान्तमा अमेरिकी मानवरहित विमान आक्रमणमा मारिएका थिए ।
आक्रमणमा अमेरिकामा जन्मिएका समीर खान र वम बनाउन दक्ष मानिने साउदी अरबका एक नागरिक पनि मारिएको बताइएको छ ।
अमेरिकी मूलका कट्टरपन्थी इस्लामिक धार्मिक नेता अवलाकी अरब क्षेत्रमा अल कायदाका महत्वपूर्ण नाइके मानिन्थे । अल अवलाकी सन् २००७ देखि यमनमा लुक्दै आएका थिए ।