अमेरिकाको न्युयोर्कको वाल स्ट्रीटमा छाएको आर्थिक मन्दीबिरुद्ध प्रदर्शन गरिरहेका सयौ प्रदर्शनकारी गिरफ्तार

अमेरिकाको न्युयोर्कको वाल स्ट्रीटमा अमेरिकामा छाएको आर्थिक मन्दीबिरुद्ध प्रदर्शन गरिरहेका करिब सात सय प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । गत दुई सातादेखि अमेरिकी समाजमा भएको पारिश्रमिक विभेद र बेरोजगारी बिरुद्ध हजारौं मजदुर प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनका क्रममा सवारी साधनमा रोक लगाएपछि सुरक्षाकर्मीको तैनाथी बढाई उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 

यो प्रदर्शनमा अमेरिकाको कयौं मजदुर संगठनहरुको सहभागिता रहेको छ । अमेरिकामा छाएको आर्थिक मन्दीको दोषी अमेरिकी सरकार भएकोमा यसको भागीदार जनता किन हुने भन्ने प्रदर्शनकारीहरुको भनाई रहेको छ ।

 

तर अमेरिकाले भने आर्थिक मन्दी कम गर्न नयाँ योजना लागू गर्ने घोषणा यसअघि नै गरिसकेको छ । प्रदर्शनकारीहरुले अमेरिकाका अन्य शहर बोस्टन, शिकागो र सन् फ्रान्सिस्कोमा पनि प्रदर्शन जारी राखेका छन् ।