अफगानिस्तानमा रब्बानीको हत्यामा आफ्नो संलग्नता नरहेको हक्कानी समुहको दाबी

अफगानिस्तानको लडाकु हक्कानी समुहका एक नेताले पुर्वराष्ट्रपति बुरहानुद्दिन रब्बानीको हत्यामा आफ्नो संगठन जिम्मेवार नरहेको स्पष्ट पारेका छन् । अफगानी अधिकारीहरुले हक्कानी नेटवर्कलाई रब्बानीको हत्यामा जिम्मेवार ठहराइरहेका बेला सो समुहका नेता सिराज हक्कानीले पाकिस्तानको गुप्तचर निकाय आइएसआइसँग पनि कुनै सम्बन्ध नरहेको बताएका छन् ।


बीबीसीसँगको कुराकानीका क्रममा उनले रब्बानीको हत्याका बारेमा टिप्पणी समेत गर्न नचाहेको बताएका छन् । हक्कानी समुहलाई अफगानिस्तानमा हुने गरेका कैयौं आक्रमणका घटनामा संलग्न रहेको आरोप लाग्दै आएको छ ।


असोजको पहिलो हप्ता अफगानी पुर्वराष्ट्रपति रब्बानीको काबुलमा तालिवान विद्रोहीसंग वार्ता गरिरहेको बेला आफ्नै निवासमा हत्या भएको थियो । अफगानी अधिकारीहरुले रब्बानीको हत्यामा पाकिस्तानको पनि हात हुनसक्ने बताउँदै आएका छन् ।