काठमाडौ – बडादसैँको आठौँ दिन आज घरघरमा शक्तिस्वरुपा देवी दुर्गाभवानीको पूजाअर्चना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत विभित्र शक्तिपीठमा बलिसहित पूजा, दुर्गा सप्तशती पाठ तथा पुटित भइरहेको छ ।
उपत्यकाभित्रका शक्तिपीठहरू दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, नरदेवी, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा पनि बलि चढाउने र पूजाआराधना गर्नेहरूको बिहान सबेरैदेखि भीड लागेको छ ।
आज दसैँघर तथा जमराकोठामा शक्तिस्वरुपा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा नौ थुप्रा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित दुर्गापूजा गर्नुका साथै कलपुर्जा, खड्ग पूजा, हातहतियार र सवारीसाधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।
पशुबलि नचढाउनेले जमराकोठामा घिराँैला, कुभिन्डो, मूला आदिको बलि दिई दुर्गाभवानीलाई दही चिउरा, खिर तथा नरिवल चढाई पूजापाठ गर्दछन् ।
नेपाललगायत भारत, भुटान, बङ्गलादेश, वर्मामा बसेको नेपालीमूलीहरूले पनि बडादसैँ मनाउने प्रचलन रहेको छ । आजका दिन कलकत्ताको कालीको मन्दिर तथा आसामको कामरुकामाक्षमा पनि तान्त्रिक विधिअनुसार पूजा गर्नेहरूले बलि चढाउने परम्परा रहेको संस्कृतीविद् सत्यमोहन जोसीले बताए ।
संस्कृतीविद् जोसीले असत्यमाथि सत्यको विजय तथा धार्मिक सहिष्णुता र समन्वय बनाइराख्न दुर्गापूजाको महत्व रहेको उल्लेख गरे ।
राष्ट्रपति