काठमाडौं – टीकाको तेस्रो दिन शनिबार पनि मान्यजनहरूबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी छ। शनिबार बिहानदेखि नै सडकमा आफन्तजनकहाँ टीका लगाउन हिँड्ने नेपालीहरूको चहलपहल देखिएको छ।
फूलपातीदेखि काठमाडौंको सडक बजार प्रायः सुनसान रहेकोमा बिहीबारदेखि टीका लगाउनेको ओहरदोहर सुरु भएको देख्न सकिन्छ।
सार्वजनिक सवारीसाधन ज्यादै कम चलेकाले धेरैजसो मानिस निधारभरि रातो अक्षता र शिरमा जमरा लगाई बाटामा हिँडिरहेको देखिन्छन्। चाड पर्वको बेलामा कुनै आपराधिक घटना हुन नदिन चोकचोकमा प्रहरी सुरक्षाका लागि खटिएका छन्।
टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। रासस