युक्रेनकी पूर्व प्रधानमन्त्री युलिया ताइमोशेन्कोलाई पदमा रहदा शक्तिको दुरुपयोग गरेको आरोपमा ७ वर्षको जेल सजाय सुनाइएको छ । सन् २००९ मा रुससंग ग्याँस सम्झौता गर्दा अपाराधिक ढंगबाट शक्तिको दुरुपयोग गरेको अदालतको ठहर छ । अदालतले उक्त सम्झौताका कारण सरकारी ग्यास कम्पनीलाई १ सय ८६ मिलियन डलर क्षति पुगेको भन्दै ताइमोशेन्कोले उक्त रकम तिर्नु पर्ने निर्णय गरेको छ ।
अदालतले उनलाई तिन वर्ष सम्म राजनीति गर्न समेत रोक लगाएको छ । तर ताइमोशेन्कोले आफु माथिको अभियोग राजनीति प्रेरित भएको दाबी गर्दै आफु विरुद्धको मुद्धा यूरोपियन अदालतको मानव अधिकार निकायमा लैजाने बताएकी छन् ।
अमेरिका र युरोपियन युनियनले युक्रेनमा विपक्षीहरुलाई सुनियोजित ढंगबाट कानुनी उल्झनमा फसाउने षड्यन्त्र भएको भन्दै निन्दा गरेका छन् । यूरोपियन अधिकारीहरुले ताइमोशेन्कोलाई जेल पठाउने फैसलाबाट यूरोपियन यूनियनसंग युक्रेन समायोजन हुने प्रक्रियामा गंभीर धक्का लागेको प्रतिक्रिया दिएका छन् । यता अदालतको निर्णय विरुद्ध प्रदर्शनमा उत्रिएका ताइमोशेन्कोका समर्थक र दंगा प्रहरीबीच ठाउं ठाउंमा झडप भएको छ भने केही प्रदर्शनकारी पक्राउ परेका छन् ।