बर्मामा विभिन्न अभियोगमा जेल जिवन बिताइरहेका दजनौं बन्दीहरु रिहा

बर्मामा विभिन्न अभियोगमा जेल जिवन बिताइरहेका दजनौं बन्दीहरु रिहा गरिन थालिएका छन् । रिहा हुनेमा राजनीतिक बन्दी पनि रहेको बताइएको छ । बर्माका लोकप्रिय हास्यकलाकार जारगनार रिहा हुनेमा पहिलो बन्दी बनेका छन् । सन् २००८ मा करिब १ लाख ४० हजार मानिसको मृत्यु हुने गरि आएको नरगिस समुद्री आंधी पछि सरकारले उचित कदम नउठाएको भन्दै आलोचना गरेपछि उनी पक्राउ परेका थिए । प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीले सय भन्दा बढी राजनीतिक बन्दीहरु रिहा भएको बताउनु भयो । हिजो मात्र वर्मा सरकारले ६ हजार ३ सय भन्दा बढी बन्दीहरुलाई आममाफी दिई रिहा गरिने घोषणा गरेको थियो ।


बर्मामा मानव अधिकारवादी निकायले राज्यको स्थायित्वको हिसाबले खतरा नदेखिएकाहरुलाई रिहा गर्न आग्रह गरेको केही घण्टा मै बन्दी रिहा गर्ने घोषणा भएको हो । हालै मात्र पश्चिमा मुलुकहरुले राजनीतिक बन्दीको विषयलाई लिएर बर्मा माथि नाकाबन्दीको घोषणा गरेका थिए । बर्मामा गत वर्ष मात्र करिब २ दशक पछि पहिलो पटक आमनिर्वाचन भएको थियो । निर्वाचन पछि बर्मामा सेनाको समर्थनमा बनेको सरकार छ । गैर सैनिक ब्यक्तिहरुले सत्ता चलाए पनि त्यहाँ सेना अझै पनि निर्णायक भूमिकामा रहँदै आएको छ ।