विगत २९ वर्षमा विपत्‌का कारण नेपालमा २२ हजार २७८ जनाको अकालमा मृत्यु


 

काठमाडौ  – विगत २९ वर्षमा विपत्‌का कारण नेपालमा २२ हजार २७८ जनाको अकालमा मृत्यु भएको छ ।

भूकम्प, बाढीपहिरो, आगलागी, महामारी, हुरीबतास, असिना, चट्याङ, हिँउपहिरो र भागदौगजस्ता विपत्का कारण मृत्यु भएको प्रकोप पूर्व तयारी सञ्जाल नेपालले जानकारी दिएको छ ।

सञ्जालका अनुसार भूकम्पबाट ७२७, बाढीपहिरोबाट सातहजार ४६९, आगलागीबाट एकहजार २६८, महामारीबाट १२ हजार १७, हुरी बतास, असिना, चटट्याङबाट ६२२, हिँउपहिरोबाट १०४ र भागदौगबाट ७१ जनाको मृत्यु भएको छ ।

सञ्जालका अध्यक्ष डा मीनबहादुर पौडेल क्षेत्री नेपालमा विपत्‌का कारण जनधनको क्षति हुने क्रम पनि बढी रहेको बताउँछन् । विपत्मा सडक दुर्घटनालाई समावेश गरिएको छैन । सडक दुर्घटनामा परी मृत्युहुनेको सङ्ख्या पनि बढी छ ।

दैवीप्रकोप उद्धार ऐनका अनुसार भूकम्प, आगलागी, आँधिबेहरी, बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, अनिकाल, महामारी, औद्योगिक दुर्घटना, विष्फोटन, असिना पानी, चट्याङ, शीतलहर, हिमपात, हवाई र डुङ्गा दुर्घटनालाई विपत्‌का रुपमा परिभाषित गरिएको छ ।

गृह मन्त्रालयले सम्भावित भूकम्पको विपत्का समयमा यसलाई व्यवस्थापन गर्न उपत्यकाका ८३ वटा खुला स्थानलाई पहिचान गरी खानेपानी, सडक, विजुलीलगायत अन्य पूर्वाधार विकास गर्ने एवम् र खाद्यान्न भण्डारण गर्ने कार्यलाई अगाडि बढाएको छ ।

विभिन्न सस्थाको आर्थिक एवम् प्राविधिक सहयोगमा गैर खाद्य राहत सामग्रीको भण्डारण गरिएको मन्त्रालयको विपत् व्यवस्थापन शाखाले जानकारी दिएको छ ।

शाखाका अनुसार मन्त्रालयले आपत्कालीन कार्य सञ्चालन केन्द्रसहितको पाँचवटा क्षेत्रीय भण्डारण गृहको निर्माण कार्यलाई अगाडि बढाएको छ ।

विपत् व्यवस्थापनका जोखिम न्यूनीकरणलाई भन्दा प्रतिकार्यलाई बढी जोड दिने परम्परा भएका कारण नेपालमा विपत्मा धेरैको जनधनको क्षति हुने गरेको छ ।

-रासस