बेलायती रक्षामन्त्री लियम फक्सले पदबाट राजीनामा दिनुभएको छ । आफ्ना साथी एवं स्वघोषित सल्लाहकार ऐडम वेरिटीसँग आधिकारीक कामका विषयमा जोडिएका विभिन्न आरोप सार्वजनिक भएपछि फक्सले राजीनामा दिनुभएको हो । प्रधानमन्त्री डेभिड क्यामरुनलाई लेखेको राजीनामापत्रमा फक्सले आफ्नो निजी र व्यवसायिक जिम्मेदारीलाई गल्तीले अलग राख्न नसकेको उल्लेख गर्नुभएको छ । उहाँले गल्तीले निजी फाइदा र सरकारी गतिविधिबीचको फरक बुझ्न नसकेको भन्दै माफी माग्नु भएको छ ।
फक्सले यसै हप्ता बेलायती संसदमा आफ्नो कामप्रति माफी माग्नुभएको थियो । प्रधानमन्त्री क्यामरुनले फक्सको राजीनामाप्रति अपशोच जनाएपनि फक्स र वेरिटीको सम्बन्धमा प्रश्न उठेपछि रक्षामन्त्रीबाट हटाउनुपर्नेमा निष्कर्षमा पुगेको बताइएको छ । सरकारी आधिकारीक भूमिकामा नरहेका वेरिटी रक्षामन्त्री फक्ससंग १८ विदेशभ्रमणमा गएको र उनको विजनेश कार्डमा रक्षामन्त्रीको सल्लाहाकार उल्लेख गरिएको खुलासा भएको थियो ।
बेलायती मन्त्रीपरिषद्का सचिव फक्सले मन्त्री पदको संहिता तोडेको आरोपका सम्बन्धमा जांचबुझ गरिरहेका छन् । यातायात मन्त्री फिलिप हामोण्डले अब रक्षामन्त्रीको कार्यभार सम्हाल्नु हुनेछ ।