यस वर्ष उत्तरी अफ्रिका र पश्चिम एसियाका देशमा भएको अरब क्रान्तिका क्रममा ५० अर्ब डलर बरावरको नोक्सानी भएको एक अनुसन्धानले जनाएको छ । अन्तर्राष्ट्रिय परामर्श समूह जियोपोलिसिटीले गरेको अध्ययन अनुसार क्रान्तिका क्रममा सबैभन्दा बढी नोक्सानी लिबिया, सिरिया र इजिप्टमा भएको छ । तीन वटै मुलुकमा उत्पादन ठप्प हुँदा सरकारी कोषमा ठूलो असर परेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले पनि अरब मुलुकमा छोटो अवधिमै भारी नोक्सानी भएको प्रष्ट गरेको छ ।
यस वर्ष लिबिया, सिरिया, इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा विरोध प्रदर्शन चर्केको थियो । ट्युनिसिया र इजिप्टमा भएको विद्रोह सफल भई सत्ता परिवर्तन भएपछि अरु अरब मुलुकमा विद्रोह सुरु भएको थियो । विश्लेषकहरुका अनुसार ति मुलुकमा आन्तरिक अशान्ति एकदमै बढेको छ ।
लिबियामा गत फेब्रुअरीदेखि कर्णेल मुअमार गद्दाफीको विरोधमा प्रदर्शन भइरहेको छ । त्यसयता सात लाखभन्दा बढी मानिस देश छोडेर बाहिरिएको तथा ग्यास, तेल उत्पादन पूरैजसो रोकिएकाले अर्थ व्यवस्थामा ठूलो क्षति भएको छ । लिबियामा ८४, यमनमा ७७ प्रतिशत राजस्व गिरावट भएको छ । यसबाहेक मानवीय, पूर्वाधार र विदेशी लगानीमा भएको क्षतिलाई गणना गर्दा ति मुलुकको स्थिति संकटपूर्ण देखिन्छ । महिनौं लगाएर जियोपोलिसिटीले गरेको अनुसन्धानमा संयुक्त अरब इमिरेट्स, कुवेत र साउदी अरेबियामा राजस्व बढेको देखिएको छ । साउदी अरेबियामा २५ र युएईमा ३१ प्रतिशत राजस्व बढेको छ । सन् १९५० यताको ठूलो उथलपुथलको सामना अरब मुलुकले गरिरहेको उक्त संस्थाले जनाएको छ ।