लिबियाका सत्ताच्यूत सैनिक शासक मुअमर गद्दाफी मारिए

लिबियाका सत्ताच्यूत सैनिक शासक मुअमर गद्दाफीको अन्त्य 
सिर्त (लिबिया), कार्तिक ३ – लिबियाका सत्ताच्यूत सैनिक शासक मुअमर गद्दाफी बिहीबार आफ्नै गृहनगर सिर्तमा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रिय संक्रमणकालीन परिषद (एनटीसी)का अधिकारीलाई उद्यृत गर्दै अल जजिराले उनी मारिएको दाबी गरेको छ । सीएनएनले पनि गद्दाफी मारिएको जनाउँदै उनको सरकारका रक्षामन्त्री अबु बक्र युनिस पनि मारिएको र प्रवक्ता मौसा इब्राहिम समातिएको उल्लेख गरेको छ ।
एनटीसीका ११ औं ब्रिगेड कमाण्डर अब्दुल हाकिमले गद्दाफीको शव अबु बक्र युनिससँगै देखेको बताएका छन् । ‘मैले आफ्नै आँखाले उनलाई देखेको हुँ,’ हाकिमले समाचार संस्था रोयटर्सलाई तस्बिर देखाउँदै भने । 
राष्ट्रिय संक्रमणकालीन परिषदका कमाण्डरबाट पक्राउ परेका उनी घाइते भएको समाचार सार्वजनिक भएको केहीबेरमै उनी मारिएको समाचार प्रकाशमा आएको हो ।
कर्णेल गद्दाफी ४२ वर्षदेखि सत्तामा थिए । अन्तर्राष्ट्रिय अपराध अदालतले उनको गिरफ्तारी माग गरेको थियो । ‘उनलाई कब्जामा लिइएको छ, उनको दुवै खुट्टामा चोट लागेको छ,’ राष्ट्रिय संक्रमणकालीन परिषद (एनटीसी)का अधिकारी अब्दुर मजीदले रोयटर्सलाई भने । 
मजीदका अनुसार दुवै खुट्टामा चोट लागेर घाइते अवस्थाका गद्दाफीलाई उपचारका लागि एम्बुलेन्समा लगिएको थियो । समाचार संस्था एएफपीले एनटीसीका अर्का अधिकारी मोहम्मद लेथलाई उद्यृत गर्दै उनी सिर्तबाट ‘गम्भीर घाइते’ अवस्थामा समातिएको जनाएको छ ।
बीबीसीका अनुसार पक्राउ गर्नेक्रममा गद्दाफी ‘गोली नचलाउ’ भन्दै चिच्याएका थिए । गृहनगर सिर्त त्रिपोलीबाट ३ सय ६० किलोमिटर पूर्वमा पर्दछ । 
यसैबीच गद्दाफी समातिएको खबर सुनेपछि विद्रोहीहरुले खुशीयाली मनाउन सुरु गरेका छन् । उनीहरुले हवाई फायरिङ गर्दै ‘ईश्वर महान् छन्’ भनिरहेका छन् ।