कोरियाली युद्धका क्रममा हराइरहेका अमेरिकी सेनाको अवशेषको खोजीको विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति

कोरियाली युद्धका क्रममा हराइरहेका अमेरिकी सेनाको अवशेषको खोजीको विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति भएको छ । थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न तीन दिने वार्तापछि अमेरिकी अधिकारीहरुले ६ वर्षपछि पुन खोजी कार्य शुरु हुने बताएका छन् । अवशेषको खोजी उत्तर कोरियाको राजधानी प्योङयाङ देखि उत्तरमा रहेको क्षेत्रमा हुनेछ । यो खोजीले आणविक कार्यक्रमका कारण अमेरिका र उत्तर कोरियाको तनाबको विषयलाई हाललाई केहि मत्थर बनाउने विश्लेषण गरिएको छ । सन् १९९६ देखि २००५ बीच गरिएको खोजी कार्यमा २ सय अमेरिकी सेनाको अवशेष फेला पारिएको थियो ।


कोरियाली युद्धमा संलग्न हजारौं अमेरिकी सेनाको बारेमा अहिले सम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । उत्तर कोरियामा ५ हजार भन्दा बढी अमेरिकी सेनाको अवशेष रहेको अनुमान गरिएको छ । ६ वर्ष अघि भएको खोजी कार्यको प्रक्रिया, प्रबन्ध र सञ्चालनको विषयमा विवाद उत्पन्न भएपछि अमेरिकी खोजी दलले आफ्नो काम बन्द गरेको थियो । पछिल्लो वार्ता रणनीतिक हिसावले उत्तर कोरियासँग फेरि सम्बन्ध स्थापित गर्ने अमेरिकाको प्रयास भएको विश्लेषण पनि गरिएको छ ।