अर्घाखाँचीमा देउसी भैलो खेल्ने क्रममा माओवादी र राजमोबीच झडप, तीन जना गंभिर घाईते

– वीरेन्द्र केसी


अर्घाखाँची – देउसी भैलो खेल्ने क्रममा माओवादी र राष्ट्रिय जनमोर्चाबीच भएको सामान्य भनाभनले उग्ररुप लिएर झडपमा परिणत हुँदा तीन जना गंभिर घाईते भएका छन ।


घाईते हुनेमा माओवादीका स्थानीय कार्यकर्ता जीवलाल भुसाल र राजमो निकटका शिक्षक रोमलाल चुदाली पौडेल र उनका छोरा सोनु रहेका छन । घाईते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

 
शुक्रवार साँझ जिल्लाको धारापानी गाविसको हिले भन्ने गाउँमा माओवादी र राजमोका कार्यकर्ता बीच सामान्य भनाभन हुँदा माओवादीका भुसाल राजमोका कार्यकर्ताबाट कुटिए थिए । आफना कार्यकर्तालाई कुटपिट गरेको भन्दै माओवादीले पौडेलका बाबुछोरालाई शनिवार राती घरमै आएर कुटपिट गरेका हुन ।

 

राजमोका केन्द्रिय सदस्य सागर केसीले माओवादीले सुनियोजित ढंगले आक्रमण गरेको बताए । माओवादीका बालकृष्ण बाजाडेको नेतृत्वमा आएको समुहले राती १२ बजे सुतिरहेका पौडेलका बाबुछोरा र परिवार माथि एक्कासी आक्रमण गरी निर्घात रुपमा कुटपिट गरेको घरको छानो भत्काउने  घर भित्रका सर-सामान फाक्ने लगायतका काम गरेको केसीले बताए । उनले करिब ३ लाख रुपैयाँ बराबरको नोक्सान गरेको बताए ।


 माओवादीका जिल्ला शेक्रेटरी ठाकुर कुमार विकका अनुसार सामान्य विवादलाई दुवैपक्ष बसेर मिलाउन आग्रह गरेपनि नमानेकाले झगडाको रुप लिएको जानकारी आफुलाई आएको बताए । स्थानीय वासिन्दाका अनुसार शुक्रवार मदिरा सेवनका कारण भएको सामान्य विवादलाई ठुलो बनाई माओवादी र राजमोले राजनीतिककरण गर्न खोजेको बताएका छन ।

 














Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.