अरब लीगले सिरियाविरुद्ध प्रतिवन्धको घोषणा गरे लगतै गल्फ राजदुताबासहरुमा बशार अल असादका समर्थकहरुबाट आक्रमण

अरब लीगले सिरियाविरुद्ध प्रतिवन्धको घोषणा गरे लगतै गल्फ देशहरुका राजदुताबासहरुमा राष्ट्रपति बशार अल असादका समर्थकहरुबाट आक्रमण भएका समाचार प्राप्त भएका छन ।

 

साउदी अरबिया र कतारमा भएका आक्रमण पछी ति देशले सो घट्नाको गम्भीर निन्दा गरेका छन ।

 

यस अघी अरब लीगले शान्ति प्रस्ताव लागु गर्न अनिच्छा देखाएको भन्दै सिरियाविरुद्ध प्रतिवन्धको घोषणा गरेको थियो। लिगले आफुहरुले गरेको शान्ति प्रस्ताव स्वीकार गरे पनि लागु नगरेको भन्दै सिरियाविरुद्ध प्रतिवन्धको घोषणा गरेको हो । इजिप्टको राजधानी कायरोमा बसेको लीगको आपतकालीन बैठकले शान्ति प्रस्ताव लागु नगरेसम्म सिरियामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

 

बैठकले चांडै नै सिरियामाथि आर्थिक प्रतिबन्ध लगाउने पनि जनाएको छ । लीगका सदस्य राष्ट्रहरुले सिरियाबाट आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय पनि गरेका छन् । बैठकले सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्ध भैरहेको प्रदर्शनमा भएको दमन रोक्न पनि आग्रह गरेको छ ।

 

गत हप्ता मात्र सिरियाले राजनीतिक बन्दीहरुको रिहाई ,सडकबाट सुरक्षाकर्मीको फिर्ती , विदेशी सञ्चार माध्यमलाई सिरियामा प्रवेश र अरब लीगका अधिकारीहरुलाई सिरियाको अवस्था अनुगमनका लागि स्वीकृती दिने सम्बन्धी अरब लीगको शान्ति प्रस्ताव स्वीकार गरेको जनाएको थियो ।

 

मानवअधिकारवादी संगठनहरुले शान्ति प्रस्ताव स्वीकार गरेपछि पनि सिरियाका विभिन्न शहरमा सयौं सरकार विरोधी प्रदर्शनकारी मारिएको जनाएपछि अरब लीगको सदस्यबाट सिरियालाई निलम्बित गर्न दबाब बढेको थियो । सिरियाले भने शान्ति प्रस्ताव लागु गरिरहेको दाबी गरेको छ । सिरियामा गत मार्च यताको सरकार विरोधी प्रदर्शनमा ३५ सय भन्दा बढीको मृत्यु भैसकेको छ ।