न्यूयोर्क प्रहरीले जुकोटी पार्कमा वाल स्ट्रिट कब्जा गरौं भन्दै प्रदर्शनमा उत्रिएकाहरुलाई त्यहांबाट हटाउने अभियान शुरु

न्यूयोर्क प्रहरीले जुकोटी पार्कमा वाल स्ट्रिट कब्जा गरौं भन्दै प्रदर्शनमा उत्रिएकाहरुलाई त्यहांबाट हटाउने अभियान शुरु गरेको छ ।

 

पार्कमा टेन्ट बनाई रातभर बसेकाहरुलाई प्रहरीले त्यहांबाट हटाउन कारवाही थालेको हो । सुरक्षाकर्मीले एक पटक पार्कबाट सबै प्रदर्शनकारी हटेपछि पनि उनीहरु पुनः प्रदर्शनका सामग्री नलिई त्यहां आउन सक्ने जनाएको छ । क्यालिफोर्नियाको अक्ल्याण्डमा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । आयको असमान वितरणको विरोधमा गत सेम्टेम्बरमा अमेरिकाबाट शुरु भएको प्रदर्शनबाट प्रेरित भई विश्वका थुप्रै शहरमा पनि यस्तो विरोध प्रदर्शन हुंदै आएको छ ।

 

प्रदर्शनकारीहरुले अभियान सञ्चालनको दुई महिना पुगेको अवसरमा विहिवार बृहद कार्यक्रमको आयोजना गर्दैछन् । कर्पोरेट संस्थाहरुको अति व्यवसायीकरण, मुनाफाखोरी र सरकारी खर्च कटौतीको विरोधमा वाल स्ट्रिट कब्जा गरौं नाम दिएर प्रदर्शन सुरु भएको थियो ।

 

 

अमेरिकाका विभिन्न शहरमा आर्थिक असमानता र ठूलो कर्पोरेट हाउसलाई बढी महत्व दिने नीति तथा धनी र गरिबबीचको बढ्दो खाडलविरुद्ध दुई महिनादेखि प्रदर्शन हुँदै आएको छ । अमेरिकामा एक प्रतिशत धनीबिरुद्ध ९९ प्रतिशतलाई बचाउने अभियानमा लागेको प्रदर्शनकारीहरुको भनाई छ ।