अष्ट्रेलियाले भारतलाई युरेनियम बिक्रिमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने संकेत दिएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले भारत र अष्ट्रेलियाबीचको सम्बन्ध सुधार गर्न भारतमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न लागेको बताउनु भएको हो ।
विश्वको ४० प्रतिशत युरेनियम भण्डार रहेको अष्ट्रेलियाले धेरै राष्ट्रलाई युरेनियम बिक्री गर्दै आएको छ । चारबर्ष अघि अष्ट्रेलियामा लेबर पार्टी सत्तामा आएपछि भारतलाई युरेनियम बिक्रीमा रोक लगाईएको थियो ।
भारतसंग परमाणु हतियार रहेको र परमाणु अप्रसार सन्धिमा पनि हस्ताक्षर नगरेको कारण देखाउँदै अष्ट्रेलियाले भारतलाई युरेनियम बिक्री गर्न बन्द गरेको थियो ।
भारतले भने परमाणु अप्रसार सन्धि भेदभावपूर्ण भएकोले हस्ताक्षर नगरेको र परमाणु हतियार प्रयोगमा नल्याएको दाबी गर्दै आएको छ । अष्ट्रेलियाली प्रधान्मन्त्री गिलार्डले युरेनियम हतियार निर्माणका लागि प्रयोग नगर्ने शर्तमा बिक्री गर्न लागेको र भारतले यसको दुरुपयोग नगर्नेमा आफू बिश्वस्त रहेको प्रतिक्रिया दिनुभएको छ ।