इजिप्टमा सेनालाई शक्तिशाली बनाउने गरी प्रस्तावित संविधानको मस्यौदा विरुद्ध प्रदर्शन

इजिप्टमा सेनालाई शक्तिशाली बनाउने गरी प्रस्तावित संविधानको मस्यौदा विरुद्ध भएको प्रदर्शनमा झडप हुंदा २ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा ६ सय ७० भन्दा बढी घाइते भएका छन् । प्रहरीले सयौ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । शुक्रवारे प्रार्थना पछि राजधानी कायरोको ताहरिर स्वायर लगायत एलेक्जेन्ड्रिया शहरमा टेन्ट लगाएर रातभर बसेका हजारौं प्रदर्शनकारीलाई सुरक्षाकर्मीले हटाउन खोज्दा झडप भएको बताइएको छ ।


सुरक्षाकर्मीले रवरका गोली प्रहार गरेका थिए भने प्रदर्शनकारीले ढुंगा मुढा प्रहार गर्नुका साथै प्रहरीको भ्यानमा आगो लगाएका थिए । प्रदर्शनमा इस्लामिक युवाहरुको उल्लेख्य सहभागिता रहेको बताइएको छ । प्रदर्शनकारीहरुले सैनिक नेतृत्वले प्रस्ताव फिर्ता लिनु पर्ने माग गरेका छन् । इजिप्टमा आगामी २८ नोभेम्बरमा हुन लागेको संसदीय चुनावलाई पछिल्लो प्रदर्शनले प्रतिकुल प्रभाव पार्न सक्ने आशंका गरिएको छ ।


गत फेब्रुअरीमा आन्दोलनको वेग थाम्न नसकी तात्कालीन राष्ट्रपति होस्नी मुबारकले राजीनामा दिए पछि इजिप्टमा सैन्य परिषद्ले शासनको वागडोर सम्हालेको छ । मुवारकको शासन अन्त्यपछि पनि देशको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेपछि बहुसंख्यक जनतामा निराशा बढ्न थालेको समाचारमा जनाइएको छ ।