यमनका राष्ट्रपति अली अब्दुल्लाह सालेहद्धारा सत्ता सुम्पने सम्झौतामा हस्ताक्षर

यमनका राष्ट्रपति अली अब्दुल्लाह सालेहले उपराष्ट्रपति अब्दराबुह मन्सुर हादीलाई सत्ता सुम्पने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । यो संगै यमनमा सालेहको ३२ वर्ष लामो शासन अन्त्य हुने छ । साउदी अरबमा अरब मुलुकको मध्यस्ततामा यो सम्झौतामा भएको हो । सम्झौता अनुसार चुनाव अघि सालेहले आफ्नो अधिकार उपराष्ट्रपतिमा सुम्पनु हुने छ भने सालेह विरुद्ध कुनै पनि मुद्धा चलाइने छैन । सत्ता सुम्पिए लगत्तै उपराष्ट्रपतिले राष्ट्रिय एकताको सरकार गठन गर्नु हुने छ र ९० दिन भित्र राष्ट्रपतिको चुनाव घोषणा गर्नु हुने छ ।

 

सम्झौता अनुसार सालेह अब तिन महिना सत्तामा रहनु हुने छ । सम्झौता समारोहमा साउदी राजा अब्दुल्लाह लगाउत विभिन्न अरब मुलुकका विदेशमन्त्री र यमनका विपक्षी नेताको उपस्थिति थियो । सम्झौतामा हस्ताक्षर भए लगत्तै सालेहले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसंग आफु उपचारका लागि न्यूयोर्क जान चाहेको बताउनु भएको थियो । यता यमनको राजधानी सानामा भने प्रदर्शनकारीहरुले सालेह विरुद्ध मुद्धा नचलाइने सम्झौता प्रति असन्तुष्टि जनाएका छ । यमनमा विगत नौ महिना देखी राष्ट्रपति सालेहको शासन विरुद्ध लगातार प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा सयौंको मृत्यु भैसकेको छ । सन् १९७८ मा सत्तामा आएका ६९ वर्षिय सालेहले यस अघि पनि सत्ता सुम्पन तयार रहेको बताउदै आए पनित्यसलाई कार्यान्वयन गर्न पछि हट्दै आएका थिए ।