रुसी राष्ट्रपति दिमिद्रि मेदभेदेभले अमेरिकाले यूरोपमा मिसायल सुरक्षा योजना अगाडि बढाए जवाफी कारवाही गर्ने चेतावनी दिनु भएको छ ।
उहांले रुसी मिसायल पोल्याण्डको सीमा नजिक कालिनिनग्रादमा तैनाथ गर्न सकिने बताउनु भयो । टेलिभिजन सन्देश मार्फत राष्ट्रपति मेदभेदेभले यो विषयमा रुस , अमेरिका र नेटोबीच सम्झौता नभए कालिनिनग्रादमा आधुनिक हतियार प्रणाली प्रयोग गरिने बताउनु भयो । उहांले परमाणु हतियारहरु कम गर्ने सम्झौताबाट रुस अलग हुन सक्ने चेतावनी पनि दिनु भएको छ ।
अमेरिकाले रुसलाई युरोपमा गैर आणविक सैन्य शक्तिको सुरक्षाबारे सुचना नदिने बताए लगत्तै रुसी राष्ट्रपतिले यस्तो चेतावनी दिनु भएको हो । अमेरिकी राष्ट्रपति बाराक ओवामाले उक्त योजनाको केही विवादास्पद बुंदा हटाउनु भए पनि रुस भने सशंकित रहदै आएको छ । अमेरिकाले मिसायल सुरक्षा प्रणालीको उद्धेश्य इरान जस्ता देशबाट हुन सक्ने सम्भावित खतराबाट सुरक्षित रहनु भएको जनाएको छ ।
अमेरिकाले आफ्नो चिन्तालाई रुसले ध्यान नदिएको बताउदै आएको छ । यता नेटो प्रमुख एन्डर्सं फोग रासमुसेनले मेदभेदेभको प्रतिक्रिया प्रति निराशा व्यक्त गर्नुभएको छ । जर्ज बुश अमेरिकी राष्ट्रपति रहेको बेला अमेरिकाले पोल्याण्ड र चेक गणतन्त्रमा यो मिसायल सुरक्षा प्रणालीको ठूलो भाग स्थापित गर्न खोजेको थियो तर रुसले त्यसबेला पनि योजनाको कडा विरोध गरेको थियो ।