भारतीय विदेशमन्त्री एस.एम कृष्णाले भारत अझै पनि पाकिस्तानले मुम्बई आक्रमणको षड्यन्त्र रच्नेविरुद्ध कानुनी कारवाही हुने प्रतिक्षामा रहेको बताउनु भएको छ । मुम्बई आक्रमणको तेस्रो वर्ष पुगेको अवसरमा बोल्दै उहाँले मुम्बई आक्रमणका षड्यन्त्रकारी विरुद्ध छिटो भन्दा छिटो कारवाही गर्न पाकिस्तानलाई आग्रह गर्नुभयो । भारतीय विदेशमन्त्री कृष्णाले आतंकलाई राज्यको नीतिको रुपमा प्रयोग गर्नु गलत र आत्मघाती भएको पनि उल्लेख गर्नुभयो ।
सन् २००८ को नोभेम्बर २६ तारिखमा मुम्बईका विभिन्न स्थानमा भएको आतंककारी आक्रमणमा १ सय ८० भन्दा बढीको मृत्यु भएको थियो भने २ सय ५० भन्दा बढी घाइते भएका थिए । भारतले आक्रमणको योजना पाकिस्तानमा बनाइएको भन्दै उसले कडा कदम चाल्नु पर्ने बताउदै आएको छ । तर पाकिस्तानले भने अरोप अस्वीकार गर्दै आक्रमणका सम्बन्धमा भारतले दिएको प्रमाण अपर्याप्त भएको जनाउदै आएको छ । आक्रमणको एक मात्र जीवित आक्रमणकारी अजमल अमिर कसाबलाई भारतले मृत्युदण्डको सजाय सुनाइसकेको छ ।