भेनेजुयलाले विभिन्न देशमा रहेको १ सय ६० टन सुन स्वदेश ल्याउने कार्य शुरु गरेको छ । यसको बजार मुल्य ११ अर्ब डलर रहेको छ । राष्ट्रपति ह्युगो चाभेजको निर्देशन अनुसार करिब ८५ प्रतिशत सुन स्वदेश फिर्ता ल्याउन शुरु गरिएको बताइएको छ । हिजो मात्र हवाई जहाज मार्फत सुनको पहिलो खेप युरोपेली मुलुकहरुबाट कडा सुरक्षाबीच राजधानी काराकसको केन्द्रीय बैंकमा पु-याइएको छ ।
राष्ट्रपति चाभेजले यसलाई देशको सम्प्रभुताको मामिला भन्दै मुलकुको सम्पत्तिले विश्वमा चलिरहेको आर्थिक संकटबाट देशलाई बचाउने बताउनु भयो । तर विपक्षीहरुले विदेशमा रहेको सुन देशमा भित्राउने राष्ट्रपति चाभेजको कदमलाई सस्तो लोकप्रियतासंग जोडेका छन् । उनीहरुले यसलाई चुनावी राजनीतिसंग जोडेर विरोध समेत गरेका छन् । भेनेजुयलाले धेरै जसो सुन बेलायतमा राखेको छ । पश्चिमा मुलुकहरुसंग कटुतापूर्ण सम्बन्ध रहेको भेनेजुयलाको सम्पत्तिमा प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेकोले राष्ट्रपति चाभेजले यो कदम उठाएको अनुमान गरिएको छ ।