इस्लामावाद, ११ मंसिर आफ्ना २६ सैनिकको ज्यान जाने गरी नेटो सेनाबाट भएको आक्रमणपछि पाकिस्तानले अमेरिकाको वायु सैनिक शिविर खाली गर्न भनेको छ ।
पाकिस्तान र अफगानिस्तानको सीमामा जोडिएको आदिवासी इलाकामा तालिवान विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले शाम्सी वायु शिविरबाट मानवरहित विमानबाट आक्रमण गर्दै आएको छ । पाकिस्तानले यसअघि दुईपटक उक्त हवाई शिविर खाली गर्न अमेरिकालाई भनेपनि यसपटक भने उसले १५ दिनको समयसीमा दिएको छ ।
आक्रमणमा ठूलो संख्यामा सैनिकको मृत्यु भएपछि निकै आक्रोसित भएको पाकिस्तानले नेटो र अमेरिकालाई हेर्ने दृष्टिकोणमाथि पनि पुनर्विचार गर्ने बताएको छ । अफगानस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने उत्तरपश्चिम पाकिस्तानको जातीय क्षेत्रमा नेटो सेनाले विना कारण आक्रमण गरी आफ्ना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाको दावी छ ।
आक्रमणपछि प्रधानमन्त्री युसुफ रजा गिलानीको अध्यक्षतामा बनेको समितिले अफगानिस्तानमा नेटोका लागि लगिने खाद्य तथा अन्य सामग्री लैजाने बाटो बन्द गर्ने निर्णय गरेको थियो । गिलानीले यो अन्य मुलुकको सार्वभौमसत्तामाथिको हस्तक्षेपको रुपमा लिएका छन् ।