पाकिस्तानले पाक अफगान सीमामा नेटोको आक्रमणमा आफ्ना दुई अधिकृत सहित २५ सेना मारिएको घटनालाई पाकिस्तानको एकता र स्वतन्त्रतामाथिको हमला भएको जनाएको छ । शुक्रवार राती अफगानिस्तान सीमाको उत्तर पश्चिम सलाला सैन्य चेक पोष्टमा नेटो हेलिकप्टरको गोलावारीमा परि कम्तीमा २५ जना पाकिस्तानी सेना मारिएका थिए । घटना लगत्तै बसेको पाकिस्तानको रक्षा समितिको आपातकालीन बैठकले अमेरिका र नेटोसंग राजनीतिक , सैन्य र गुप्तचर सहयोगको समीक्षा गर्ने निर्णय गरेको छ ।
बैठकले अमेरिकाले प्रयोग गर्दै आएको बलुचिस्तान प्रान्त स्थित शम्सी एअर वेस १५ दिन भित्र खाली गराउन भनेको छ । अमेरिकाले शम्सी एअर वेसबाट मानव रहित विमान आक्रमण गर्दै आएको थियो । घटना लगत्तै पाकिस्तानले अफगानिस्तानमा कार्यरत नेटो सेनाका लागि खाद्यान्न सामग्री लैजान प्रयोग गरिंदै आएको मार्ग बन्द गरेको छ ।
जसका कारण धेरै ट्यांकटर जमरुद नगरमा रोकिएका छन् । उता नेटोका वरिष्ठ कमाण्डर जनरल जोन एलेनले घटना प्रति दुख व्यक्त गर्दै घटनाबारे अनुसन्धान भैरहेको बताएका छन् । पाकिस्तानी सेनाले अमेरिकी हेलिकप्टरबाट बिना कारण नै आक्रमण गरिएको र अन्धाधुन्ध गोली चलाइएको जनाएको छ । पाकिस्तानको एवोटावादमा अमेरिकी सेनाको कारवाहीमा ओसामा विन लादेन मारिए पछि चिसिएको पाकिस्तान अमेरिकाको सम्बन्धमा यो घटनाले थप धक्का दिएको विश्लेषण गरिएको छ ।