नासाद्धारा मंगल ग्रहमा जीवको अस्तित्वको विषयमा अध्ययन गर्न अहिले सम्मकै सबैभन्दा सक्षम मानिएको मेशिन रोवर प्रक्षेपण
मंसिर १२ गते, २०६८ मा प्रकाशित
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा जीवको अस्तित्वको विषयमा अध्ययन गर्न अहिले सम्मकै सबैभन्दा सक्षम मानिएको मेशिन रोवर प्रक्षेपण गरेको छ ।
यो रोवर क्यूरियोसिटी फ्लोरिडाको केप क्यानवेरलाबाट एटलास रकेटको माध्यमबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । रोवर एक ठूलो गाडी आकारको मेसिन हो जसले अन्तरिक्षमा पुगेर मंगल ग्रहको चारैतिर पुगेर सन्देश पठाउने छ । यसले त्यहांँको सतहको माटो र चट्टानको नमुनाको जांच गर्ने छ ।
यसअघि मंगलग्रहमा पठाइएका रोवरहरु भन्दा पांच गुणा बढी ६ टन तौलको छ । यो रोवर अगष्ट २०१२ मा मंगल ग्रहको सतहमा पुग्ने छ । मंगल ग्रहमा सफलतापूर्वक उत्रिएमा दुई वर्षको आफ्नो अभियानका क्रममा यसले मंगलग्रहको वातावरण सुक्ष्म जीवको विकासको लागि अनुकुल भए नभएको पत्ता लगाउने छ । यो मिशनको कुल खर्च सांढे दुई अरब डलर रहेको छ ।