प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष त्रिभूवन विमानस्थलमा समान चोरी भएको गुनासो

काठमाडौ – नवौं हस्तकला व्यापार मेलाको अवलोकन गर्न भृकुटी मण्डप पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष पाकिस्तानी डिजाइनरले त्रिभूवन विमानस्थलमा आफ्नो समान चोरी भएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री भट्टराईसंग ट्रेन्ड डिजाइनर पाकिस्तानका सायरा वानुले मेलामा भाग लिन आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आफ्नो रु ५० हजार बराबरको सामान चोरी भएको र चोरी भएको बारेमा भन्सार अधिकृतलाई भन्दा आफूलाई उल्टै चोरी नभएको बताई बाँकी सामानको पनि दोब्बर दस्तुर लिएको गुनासो गरे ।

यसैगरी प्रधानमन्त्रीसँग पाकिस्तानकै एफएफएस कलेक्सनकी फाइजा रिजनीले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आफ्ना सामान हराएको गुनासो गरिन् ।

प्रधानमन्त्री डा भट्टराईले भन्सार कार्यालयले लिएको दोब्बर दस्तुर तथा चोरीका बारेमा तत्काल बुझेर कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलामणि पौड्याललाई निर्देशन दिएका छन् ।

यही मङ्सिर ८ गतेदेखि नेपाल हस्तकला महासङ्घको आयोजनामा भृकुटीमण्डप, प्रदर्शनीहलमा सञ्चालित मेलामा भाग लिन पाकिस्तानबाट उनीहरु आएका हुन् । म्लाको अन्तिम दिन सोमबार प्रधानमन्त्री अवलोकन तथा निरीक्षणका लागि गएका हुन् । प्रधानमन्त्रीले नेपाली, पाकिस्तानी तथा बङ्गलादेशी कक्षको अवलोकन गरेका थिए ।

मेलामा पाकिस्तानका २०, बङ्गलादेशका १० र बाँकी अन्य मुलुकका करिब २०० प्रदर्शनीकक्ष छन् ।

कान्तिपुर