लन्डन, १५ मंसिर इरानको राजधानी तेहरानस्थित बेलायती दूतावासमा भएको हमलाको विरोधमा बेलायतले इरानका सबै कुटनीतिक कर्मचारीहरुलाई बेलायतबाट निष्काशित गरेको छ ।
बेलायतका विदेशमन्त्री विलियम हेगले लन्डनस्थित इरानी दूतावास बन्द गर्न आदेश दिँदै २४ घण्टाभित्र देश छाड्न सबै इरानी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
यसअघि इरानमाथि थप प्रतिबन्ध लगाएको विरोधमा तेहरानमा विद्यार्थीहरुको एक समूहले बेलायती दूतावासमा आक्रमण गरी तोडफोड तथा बेलायतको झन्डा जलाएका थिए । प्रदर्शनकारीहरुले बेलायतले इरानमाथि लगाएको आर्थिक प्रतिबन्धको विरोध गर्दै दूतावासका आक्रमण गरेपछि बेलायतले आफ्ना सबै कर्मचारीलाई तेहरानबाट स्वदेश फिर्ता बोलाएको थियो ।
उता, बेलायती दूतावासमा भएको आक्रमणको विश्वका अन्य मुलुकले पनि विरोध गरेका छन् । अमेरिका, संयुक्त राष्ट्र सुरक्षा परिषदले आक्रमणको निन्दा गरेका छन् ।