रुसमा संसदीय निर्वाचनका लागि मतदान शुरु

रुसमा संसदीय निर्वाचनका लागि मतदान शुरु भएको छ । रुसी संसद डुमाको ४ सय ५० सीटका लागि भएको निर्वाचनमा सात वटा दलले आफ्ना उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् । डुमामा वर्तमान प्रधानमन्त्री भ्लादिमिर पुटिनको दलको बहुमत थियो । रुसको एक मात्र स्वतन्त्र निर्वाचन अनुगमन समुह गोलोसमा ५ हजार ३ सय भन्दा बढी निर्वाचन कानुन उल्लंघन भएकोे उजुरी परेका छन् । गोलोसका प्रमुख लिल्या शिबानोभालाई मस्कोमा उनको ल्यापटपमा गैरकानुनी सामग्री रहेको भन्दै अनुसन्धानका लागि केही घण्टा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । यो संस्थालाई अमेरिका र युरोपियन युनियनले आर्थिक सहयोग गरेका छन् ।


रुसी प्रधानमन्त्री पुटिनले अरु मुलुकहरुलाई निर्वाचन तयारीमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनु भएको छ । रुसी सांसदहरुले पनि विदेशी आर्थिक सहयोगमा सञ्चालित संस्थालाई निर्वाचन अनुगमन गर्न दिएकोमा प्रश्न उठाएका छन् । शुक्रवार मात्र गोलोसलाई मस्को अलादतले निर्वाचनको पांच दिन अघि मत सर्वेक्षणको नतिजा सार्वजनिक गरेको भन्दै एक हजार डलर जरिवाना गरेको थियो । रुसमा आगामी मार्च ४ मा राष्ट्रपतिय निर्वाचन हुदै छ । निर्वाचनमा दुई कार्यकाल राष्ट्रपति रहिसकेका वर्तमान प्रधानमन्त्री पुटिनले फेरि पनि उम्मेदवारी दिंदै छन् ।