रुसमा भएको संसदीय चुनावमा पुटिनको पार्टीले बहुमत पाएपछि प्रधानमन्त्री भ्लादिमीर पुटिनबिरुद्ध रुसमा प्रदर्शन भएको छ । चुनावमा धाँधली भएको भन्दै पुटिनबिरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले चुनाव निष्पक्ष नभएको भन्दै चुनावी परिणाम आफूहरुलाई मान्य नहुने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकले संसदीय चुनावमा धाँधली भएको बताएपनि रुसी राष्ट्रपति दिमित्री मेदभेदेबले चुनाव निष्पक्ष भएको दाबी गर्नुभएको छ । चुनावमा पुटिनको पार्टी युनाईटेड रसियाले ७७ सीटमा हार ब्यहोरेपनि पार्टीको समर्थनमा ५० प्रतिशत मत प्राप्त भएको छ ।
जबकी उनको पार्टीलाई सन् २००७ मा भएको चुनावमा ६४ प्रतिशत मत प्राप्त भएको थियो । भ्लादिरमीर पुटिन सन् २००० देखि सन् २००८ सम्म रुसका लागि राष्ट्रपति रहेका थिए । पुटिन आगामी मार्चमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार हुने निश्चित छ । रुसमा चुनावी परिणामलाई लिएर भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो ।