नेटोको आक्रमणमा आफना सेना मारिएपछि रुष्ट बनेको पाकिस्तानले अमेरिकासँग फेरि सम्बन्धमा लचकता

नेटोको आक्रमणमा आफना सेना मारिएपछि रुष्ट बनेको पाकिस्तानले अमेरिकासँग फेरि सम्बन्धमा लचकता अपनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनाप्रति खेद प्रकट गरेपछि पाकिस्तान पनि नरम बनेको हो । पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानीले अमेरिका र पाकिस्तानबीचको गठबन्धनलाई टुट्न नदिन दुबै देशले लचकता अपनाउनुपर्ने जनाउनु भएको छ ।

 

पाकिस्तानी भनाइको स्वागत गर्दै अमेरिकाले पनि पाकिस्तानसंगको सम्बन्ध आफ्नो राष्ट्रिय सुरक्षा हितका लागि भएको जनाएको छ । अमेरिकी बिदेश मन्त्रालयका प्रवक्ता मार्क टोनरले पाकिस्तानमा मौलाउँदो आतंकबादलाई दुई देश मिलेर समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

अमेरिकी हमलामा आफना २४ सैनिक मारिएपछि रुष्ट रहेको पाकिस्तानले जर्मनीमा भएको अफगानिस्तानसम्बन्धि छलफल समेत बहिष्कार गरेको थियो । यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेटो हमलामा पाकिस्तानी सेना मारिएकोप्रति पाकिस्तानी राष्ट्रपति असीफ अल जर्दारीसमक्ष खेद ब्यक्त गर्नुभएको थियो ।