अफगानिस्तानका विभिन्न शहरमा भएका आत्मघाती विष्फोटमा परी कम्तिमा ५४ जना मारिए

अफगानिस्तानका विभिन्न शहरमा आज भएका आत्मघाती विष्फोटमा परी कम्तिमा ५४ जना मारिएका छन् । राजधानी काबुलमा शिया मुसलमानको धार्मिक स्थलमा गराइएको विष्फोटमा परी कम्तिमा ५० जना मारिएका छन भने धेरै घाइते भएका छन् ।

 

शिया समुदायको महत्वपूर्ण मानिएको मुहर्रम पर्व मनाउन ठूलो संख्यामा मानिसहरु जम्मा भएको स्थानमा विस्फोट गराइएको हो । काबुलमै अर्को विष्फोटको प्रयासलाई भने प्रहरीले निस्तेज पारेको जनाएको छ । अफगानिस्तानमा मुहर्रम पर्वका दिन सार्वजनिक बिदा दिने गरिन्छ ।

 

यस्तै अफगानिस्तानकै अर्को शहर मजार ए शरिफ स्थित एक मस्जिदमा मोटरसाइकलमा राखिएको बम विष्फोट हुंदा कम्तिमा चार जना मारिएका छन् । त्यहां पनि शिया समुदायका मानिसहरु धार्मिक -यालीमा सहभागी हुंदै थिए । सुरक्षा अधिकारीहरुले शिया मुसलमानलाई निशाना बनाई भएका विष्फोट सुनियोजित आक्रमण भएको बताएका छन् ।

 

अफगान राष्ट्रपति हमिद कारजाईले विष्फोटको निन्दा गर्दै महत्वपूर्ण धार्मिक दिनमा भएको घटनालाई आतंककारी घटना भन्नु भएको छ ।