थाइल्याण्डको एक अदालतले त्यहांको राजसंस्थाको अपमान गरेको आरोपमा एक अमेरिकी नागरिकलाई साढे दुई वर्षको जेल सजाय सुनाएको छ । थाइल्याण्डमा जन्मिएका जो गोर्डन माथि पाउल ह्याण्डलेद्धारा लिखित थाई नरेश भूमिवोल अब्दुल्यादेजको जिवनी द किङ नेभर स्माइल्स् को केही अंश इन्टरनेटमा पोस्ट गरेको आरोप लागेको थियो । कोलोराडोका कार व्यापारी ५५ वर्षिय गोर्डनले आफ्नो दोष स्वीकार गरेका कारण उनको सजाय भने आधा कम गरिएको छ ।
उनी थाइल्याण्डमा उपचारका क्रममा आएका बेला पक्राउ परेका थिए । बैककमा अमेरिकी अधिकारीले भने गोर्डन विरुद्धको सजाय वाक स्वतन्त्रता विरुद्ध भएको प्रतिक्रिया दिएका छन् । थाई राजसंस्थाको सम्मान गर्ने भन्दै अमेरिकी अधिकारीले तर अन्तर्राष्ट्रिय रुपमै मान्य वाक स्वतन्त्रताको पनि समर्थनमा रहेको वताएका छन् । थाइल्याण्डमा गत महिना मात्रै ६२ वर्षिय एक व्यक्तिलाई थाइ राजसंस्था विरुद्ध थाई अधिकारीलाई चार वटा सन्देश पठाएको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो । थाइल्याण्डमा राजसंस्थाको अपमान गर्ने जो कोही विरुद्ध कडा कानुनी कारवाहीको प्रावधान छ ।