रुसमा संसदीय चुनावमा व्यापक धांधली भएको भन्दै पूनः चुनाव गर्न माग गर्दै अहिले सम्मकै ठूलो प्रदर्शन



रुसमा गत हप्ता सम्पन्न संसदीय चुनावमा व्यापक धांधली भएको भन्दै पूनः चुनाव गर्न माग गर्दै अहिले सम्मकै ठूलो प्रदर्शन भएको छ । राजधानी मस्को लगायत विभिन्न ५० शहरमा जम्मा भएका हजारौं प्रदर्शनकारीले पछिल्लो दशक कै सबैभन्दा ठूलो प्रदर्शनमा भाग दिएका छन् । उनीहरुले प्रधानमन्त्री भ्लालिमिर पुटिनको राजीनामाको माग समेत गरेका छन् । प्रदर्शनकारीहरुले पुटिन र उहांको युनाइटेट रसिया पार्टी विरुद्ध चर्का नारा लगाएका छन् ।


५० हजारको संख्यामा प्रहरी र दंगा प्रहरी परिचालन गरिएको छ । प्रहरीले हजार भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । सुरक्षाकर्मीहरुले रेड स्वायरलाई पूरै घेराबन्दी गरेका छन् भने सरकारी कार्यालय र निवास रहेको क्रेमलिन सम्म पुग्नबाट पनि प्रदर्शनकारीलाई रोकेका छन् । सोभियत संघको विघटन पछिको सबैभन्दा ठूलो प्रदर्शनमा वामपन्थी देखी लिएर उग्र राष्ट्रवादी र पश्चिमा मुलुकसंग निकट मानिएका उदारवादी दलका समर्थकहरुको सहभागिता रहेको बताइएको छ ।


चुनावमा पुटिनको पार्टीले २ सय ३८ सीटमा विजय हासिल गरेको थियो । रुसमा सन् १९१७ को रुसी क्रान्ति र सन् १९९१ सोभियत संघ विघटनको समयताको क्रान्ति राजधानी मस्कोबाटै शुरु भए पनि अहिलेको प्रर्दशनलाई क्रान्ति भन्न नसकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।