पाकिस्तान आतंकवादीहरुको शरणस्थल बनेको अमेरिकी सेनाध्यक्ष जनरलको आरोप



अमेरिकी सेनाध्यक्ष जनरल मार्टिन डेप्सीले पाकिस्तान आतंकवादीहरुको शरणस्थल बनेको आरोप लगाउनु भएको छ । वासिंटनमा एटलान्टिक काउन्सिलमा बोल्दै उहांले अफगानिस्तानमा अमेरिकी अभियान सफल बनाउनका लागि आतंकको प्रभाव समाप्त गर्न धेरै काम गर्न आवश्यक भएको बताउनु भयो । अमेरिकी सेनाध्यक्ष डेप्सीले पाकिस्तानसंगको अमेरिकी सम्बन्ध तनाबपूर्ण र जटिल अबस्थाबाट गुज्रिरहेको समेत बताउनु भयो ।


उहांले तत्काल पाकिस्तानसंग एकसाथ काम गर्न सहज स्थिति नरहेको पनि स्पष्ट पार्नु भयो । गत नोभेम्बर २६ मा पाकिस्तानमा नेटो सेनाको आक्रमणबाट २५ पाकिस्तानी सेना मारिए पछि अमेरिका र पाकिस्तानको सम्बन्ध तनाबग्रस्त बनेको छ । घटना लगत्तै पाकिस्तानले अफगानिस्तानमा खाद्य सामग्री लैजान नेटोले प्रयोग गर्दै आएको मार्ग बन्द गरेको छ भने बलुचिस्तानमा रहेको अमेरिकाको शस्सी एअर बेस खाली गर्न भनेको छ । आफ्ना पाकिस्तानी समकक्षी जनरल अशफाक परवेज कयानीसंग सम्पर्कमा रहेका अमेरिकी जनरल डेप्सीले अमेरिकाको केन्द्रीय कमाण्डलाई उक्त घटनाको जांच गर्न आदेश दिनु भएको छ ।