संयुक्त राष्ट्रसंघले सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्धको प्रदर्शनमा ५ हजार मानिस मारिएको भन्दै गंभीर चिन्ता व्यक्त गरेको छ । यसमा सुरक्षाकर्मीको मृत्युको संख्या भने जोडिएको छैन ।
सिरिया सरकारले आफ्ना १ हजार सुरक्षाकर्मी मारिएको जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् प्रमुख नेभी पिल्लेले सिरियाको विषय अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पठाउनु पर्ने बताउनु भएको छ । पिल्लेले अन्तर्राष्ट्रिय समुदायको निष्कृयताले सिरिया सरकारको हौसला बढाएको समेत बताउनु भयो ।
सिरियामा मानवता विरोधी अपराध भएको उहांको भनाई थियो । उहांले गत मार्च यताको सरकार विरोधी प्रदर्शनमा १४ हजार मानिस पक्राउ परेको र १२ हजार ४ सय मानिस छिमेकी मुलुक पलायन भएको जानकारी दिनुभयो । तर राष्ट्रसंघमा सिरियाका राजदूतले भने नेभी पिल्लेले पेश गरेको तथ्यांक तथ्य परक नभएको जिकिर गर्नु भयो ।
युरोपेली युनियनले सिरियामा भैरहेको दमन र हिंसा विरुद्ध विभिन्न प्रतिबन्धहरु लगाइसकेको छ भने अरब लीगले आफ्नो सदस्यबाट सिरियालाई निलम्बन गरेको छ ।
यता बढ्दो सरकारी दमनकाबीच सिरियामा सम्पन्न स्थानिय चुनावमा निकै कम मत खसेको बताइएको छ । तर अधिकारीहरुले भने चुनावमा व्यापक मत खसेको र मतदान निष्पक्ष भएको दाबी गरेका छन् ।