भारतमा विषाक्त मदिरा सेवनबाट ६३ जनाको मृत्यु

पश्चिम बंगाल, २९ मंसिर भारतको पश्चिम वंगालमा विषाक्त मदिरा सेवनबाट ६३ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण एक सय जना भन्दा बढी विरामी परेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
 
विरामीमध्ये झन्डै ७० जनाको अवस्था गम्भीर रहेकाले मर्नेको संख्या अझ बढ्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  घटनाप्रति दुख व्यक्त गर्दै पश्चिम बंगलाका मुख्यमन्त्री ममता बेनर्जीले राज्यमा रहेका सबै अवैध मदिरा पसलहरु बन्द गर्नेबारे सरकारले विचार गरिरहेको बताएकी छिन् । यसैबीच विषाक्त मदिरा व्यापारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
पश्चिम वंगालको मग्राहत, उस्थी र मन्दिरबजारका वासिन्दाले मंगलवार मदिरा सेवन गरेपछि उनीहरु विरामी परेका थिए । विषाक्त मदिरा सेवनबाट मर्नेहरु मध्ये धेरै जसो रिक्सा चालक रहेको बीबीसीले जनाएको छ । पश्चिम बंगाल सरकारले मर्नेहरुको परिवारलाई २र२ लाखका दरले सहयोग गर्ने घोषणा गरेको छ ।