सङ्घीय शासन प्रणाली

मुलुक सङ्घीयतामा जाने निर्णय संविधानले नै गरिसकेको छ तर संविधानसभामा सङ्घीयताको संरचना अझै विवादमा छ । के हो यो सङ्घीयता ? कहिले र कहाँबाट सुरू भयो ? डम्बरजंग डाँगीको जानकारीमूलक सामग्री ।


सङ्घीय शासन प्रणालीको विकास


सङ्घीयताको आधुनिक अवधारणा संयुक्त राज्य अमेरिकामा सन् १७७६ देखि १७८९ बीचमा भएको मानिन्छ । यो अवधारणा प्राचीन गि्रस, संयुक्त निदरल्यान्डस र बि्रटिस साम्राज्यबाट आएको हो । यो अवधारणामा दुई तहका सरकारहरूको स्वतन्त्रतालाई जोड दिइएको थियो । सङ्घीयता शासन प्रणाली अपनाउने अर्काे पुरानो मुलुक स्विट्जरल्यान्ड हो । सन् १२९१ मा तीनवटा मुलुकबीच सम्झौता भई महासङ्घ बनेको थियो । पछि सन् १८४८ मा केन्द्रलाई बढी अधिकार दिइएपछि सङ्घीय स्वरूपमा आएको हो ।


सङ्घीय प्रणालीले जनतालाई केन्द्रीय शोषणबाट संरक्षण गर्छ र नीति निर्मातालाई स्थानीय तहमा जनताको आवश्यकताबारे बुझ्न सहयोग पुग्छ भन्ने विश्वास गरिन्छ । सार्वजनिक सुशासनका विविध पक्षहरू जस्तै नागरिकको सहभागिता, राजनीतिक स्वतन्त्रता, राजनीतिक स्थायित्व, विधिको शासन, कर्मचारीतन्त्रको दक्षता, कम भ्रष्टाचार, मानव विकास, आय वितरण र वित्तीय तथा आर्थिक व्यवस्थापनमा एकात्मक राज्यभन्दा सङ्घीय राज्यले राम्रो गर्छ ।


सङ्घीय शासन प्रणाली


के हो ?


एक राज्यमा दुई वा दुईभन्दा बढी तहका सरकार रहेको राजनीतिक प्रणाली वा शासन व्यवस्थालाई सङ्घीय शासन प्रणाली भनिन्छ । एकात्मक प्रणालीमा पनि तहगत सरकार हुनसक्छन् तर फरक के छ भने एकात्मक प्रणालीमा ती तहगत सरकार केन्द्रीय निकायका वैधानिक संरचना हुन्छन् भने सङ्घीयतामा ती तहको संवैधानिक स्वायत्तता हुन्छ ।


सङ्घीयतामा केन्द्र र त्योभन्दा तलका इकाइ संविधानले व्यवस्था गरेका क्षेत्राधिकार र अधिकारमा स्वतन्त्र हुन्छन् । सङ्घीय सरकार एकात्मक सरकारभन्दा बढी सहभागितामूलक र प्रतिनिधिमूलक हुन्छ