– उदय जीएम
दाङ २९ मंसिर: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंको दाङको सदरमुकाम घोराहीमा चलिरहेको १८ औं राष्ट्रिय सम्मेलनको सन्दर्भमा राष्ट्रिय कविता प्रतियोगिता समपन्न भएको छ । राष्ट्रियता शीर्षकको कविता प्रतियोगितामा प्युठानका सुवास डीसीले प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
देशभरिका जम्मा २५ जनाले भाग लिएको राष्ट्रिय कविता प्रतियोगितामा चितवनका दिनेश पौडेल द्वितीय र बागलुङकी सेती पुन तृतीय भएका थिए । उक्त प्रतियोगितामा जीवन शर्मा काठमाडौं रमेश केसी चितवन र अर्का एकजनाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
राष्ट्रिय सम्मेलनको सन्दर्भमा सहभागी प्रतिनिधि, पर्यवेक्षकहरुले भाग लिन पाउने गरी उक्त प्रतियोगिताको आयोजना गरिएको केन्द्रीय सचिवालय सदस्य गणेश आचार्यले जानकारी दिए । प्रतियोगितामा राजेन्द्र ढुंगाना विद्यानाथ अधिकारी र योगेन्द्र काउछाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यसैबीच अखिल छैठौंको दाङमा जारी १८ औं राष्ट्रिय सम्मेलनको बन्दशत्र बिहीवार दिनभर पनि जारी रह्यो । बिहीवार अध्यक्ष दुर्गा शर्माले प्रस्तुत गरेको साँगठानिक र राजनीतिक प्रतिवेदन व्यापक छलफलपछि पारित भएको छ ।
महासचिव अनिलकिशोर घिमिरेका अनुसार उपाध्यक्ष लक्षिराम आचार्यले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पनि छलफलसहित पारित भएको छ । उपाध्यक्ष घनश्याम न्यौपानेले प्रस्तुत गरेको विशेष प्रस्ताव र कोषाध्यक्ष विमल पोख्रेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि बन्दशत्रले पारित गरेको छ । राति अबेरसम्ममा नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरिएको छ ।