भारतमा अत्यधिक शीतलहरका कारण २६ जनाको मृत्यु

भारतमा शीतलहरका कारण २६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश उत्तर प्रदेशका बासिन्दा छन् । गरीबीका कारण सडकमा बस्न बाध्य उनीहरुको अत्यधिक चिसोले मृत्यु भएको बताईएको छ ।

 

चिसोको प्रभाव पंजाब, हरियाणा र उतर प्रदेशमा बढी परेको छ । बाक्लो तुँवालो र हुस्सुले गर्दा घाम देख्न नपाउँदा जनजीवन निकै प्रभावित बनेको जनाइएको छ । उत्तर प्रदेशको मेरठमा तापक्रम २ दशमलव २ डिग्री र जम्मु कश्मिरको राजधानी श्रीनगरमा माइनस २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम विभागले जनाएको छ ।

 

गत साता मात्रै उत्तर प्रदेशमा अचानक बढेको चिसोले त्यहाँका बेघर जनताका लागि राहत दिने निर्णय गरिएको थियो । राजधानी नयाँ दिल्लीको तापक्रम ५ डिग्रीमा झरेको छ भने त्यहाँ पनि बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बन्नुका साथै रेल सेवा समेत अवरुद्ध बनेको छ । उत्तरी बिहारमा अत्यधिक चिसो बढेपछि विद्यालयहरु एक महिनाका लागि बन्द गरिएको छ ।