अमेरिकाले उत्तर कोरियालाई आफ्ना नेता किम जोङ इलको निधन पछि शान्तिको मार्ग अपनाउन अपील गरेको छ । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अमेरिका उत्तर कोरियाली जनताको सहयोगका लागि तयार रहेको र कोरियाली प्रायद्धिपमा शान्तिको वातावरण बनाउन चाहेको बताउनु भएको छ । क्लिन्टनले उत्तर कोरियाको नयां नेतृत्व देशको प्रतिबद्धता र आफ्ना नागरिकको अधिकारको सम्मान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले दक्षिण कोरिया र जापानका नेताहरुसंग कुरा गर्दै किमको मृत्यु पछिको परिस्थितिको समीक्षा गर्नु भएको थियो । किमको निधन पछि शान्तिको मार्ग अपनाउने र आफ्ना छिमेकी मुलुकहरुसंग सम्बन्ध सुधार गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । किमको निधन पछि अमेरिका उत्तर कोरियाका छिमेकी मुलुकहरुसंग लगातार विचार विमर्शमा जुटिरहेको छ । दक्षिण कोरियाले आफ्ना सेनालाई उच्च सतर्कताको स्थितिमा राखेको छ । यसैबीच उत्तर कोरियाको घनिष्ठ मुलुक चीनका राष्ट्रपति हु जिन्ताओले वेइजिंग स्थित उत्तर कोरियाली दूतावासमा गएर किमको निधन प्रति समवेदना प्रकट गर्नु भएको थियो । चीनले उत्तर कोरियाली जनतालाई किमका कान्छा छोरा किम जोङ उनको नेतृत्वमा एकजुट हुन पनि अपील गरेको छ ।६९ वर्षिय नेता किमको गत शनिवार ह्दयघातका कारण निधन भएपनि औपचारिक घोषणा भने हिजो मात्र गरिएको थियो ।
किमको निधनसंगै उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिका लगायतका पश्चिमा मुलुकहरुले गंभीर चासो व्यक्त गरेका छन् । किमकै शासनकालमा परमाणु कार्यक्रमको विषयमा अमेरिका सहित छ राष्ट्र सम्मिलित वार्ता भएपनि त्यो सफल हुन सकेको थिएन भने पछिल्लो समय त यो प्रक्रिया नै अवरुद्ध छ ।