इराकका उपराष्ट्रपति तारिक अल हाशिमीविरुद्ध आतंकवादीसंग सम्बन्ध राखेको आशंकामा पक्राउ पूर्जी जारी

इराकी उपराष्ट्रपति विरुद्ध पक्राउ पूर्जी


इराकका उपराष्ट्रपति तारिक अल हाशिमीविरुद्ध आतंकवादीसंग सम्बन्ध राखेको आशंकामा पक्राउ पूर्जी जारी गरिएको छ । तारिकलाई मुलुक छोडेर जान पनि रोक लगाइएको छ । सुन्नी समुदायका उपराष्ट्रपति तारिकविरुद्ध आतंकवाद विरोधी कानुन अनुसार पक्राउ पूर्जी जारी गरिएको आन्तरिक मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । तारिकका सुरक्षागार्डको आतंकवादीसंग सम्बन्ध रहेको आरोपमा पक्राउ परेलगत्तै तारिक विरुद्ध पक्राउ पूर्जी जारी गरिएको बताइएको छ । तारिकका अरु सुरक्षाकर्मीलाई पनि पक्राउ गरिएको छ । यो घटना लगत्तै मुख्य सुन्नी राजनीतिक समुहले मन्त्रीपरिषद् बैठक बहिष्कार गर्ने जनाएको छ । इराकमा शिया समुदायका प्रधानमन्त्री नुरी अल मल्लिकीले शक्तिको दुरुपयोग गरेको भन्दै इराकी संसदबाट सुन्नी समुदायका सांसदहरु संसदबाट फिर्ता भइसकेका छन् । इराकमा एक वर्ष अघि एकताको सरकार निर्माण भएयता अहिले देखिएको राजनीतिक घटनाक्रमले त्यहांको राजनीतिलाई फेरि अस्थिर बनाउन सक्ने आशंका गरिएको छ । इराकबाट सम्पूर्ण अमेरिकी सेना फिर्ता भएलगत्तै इराकी प्रधानमन्त्री मल्लिकी अर्को राजनीतिक संकटमा फस्नु भएको छ ।