अमेरिकाको इण्डियाना स्थित एक अदालतले चिनियाँ मुलका अमेरिकी वैज्ञानिक हुआगं केशुलाई व्यवसायसँग सम्बन्धित महत्वपूर्ण गोप्य जानकारी बेचेको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ ।
हुआंग माथि दुई अमेरिकी व्यवसायिक कम्पनीको गोप्य जानकारी चोरेर चिनियाँ र जर्मन शोधकर्तालाई दिएको आरोप थियो । हुआंगले अदालतमा कीटनाशक र नयाँ खाद्य उत्पादनकाबारे चिनियाँ विश्वविद्यालयलाई जानकारी दिएको स्वीकार गरेका थिए । उनी विरुद्ध २५ वर्षको सजाय माग गरिए पनि अपराध स्वीकार गरेका कारण उनको सजाय कम गरिएको थियो ।
हुआंगले डोउ एग्रोसाइन्समा सन् २००३ देखी सन् २००८ सम्म र कारगिल इन्समा काम गरेको समयमा उक्त चोरी कार्य गरेका थिए । अमेरिकी अधिकारीहले अमेरिकी कम्पनीका गोप्य जनाकारी चीन जस्तो मुलुकलाई बेचेको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।