सन् २०११ मा मात्र विश्का कम्तीमा पनि ६६ जना पत्रकार मारिएको तथ्यांक सार्वजनिक

पेरिस – आमसञ्चार तथा पत्रकारितासम्बन्धी विश्व संस्था आरएसएफले सन् २०११ मा मात्र विश्का कम्तीमा पनि ६६ जना पत्रकार मारिएको तथ्यांक बिहीबार सार्वजनिक गरेको छ ।

विश्वव्यापीरुपमा प्रेस स्वतन्त्रतासम्बन्धी अवस्थाको अनुगमन गर्दै आएको सो संस्थाले विश्वमा गरेको अनुगमनका क्रममा यस वर्ष ६६ जना पत्रकार मारिएको जनाएको हो ।

सो संस्थाले यसवर्ष विश्वका विभिन्न देशहरुमा गरी एक हजार जनाभन्दा बढी पत्रकार थुनामा परेका वा पक्राउ परेका पाइएको पनि जनाएको छ । सन् २०११ का लागि विश्वका अन्य देश एवम् सहरहरुको तुलनामा सिरिया, लिबिया र ईजिप्ट सबैभन्दा बढी खतरनाक रहेको पाइएको पनि सो संस्थाले जनाएको छ ।

साथै यो संस्थाले पहिलो पटक यसवर्ष पत्रकारहरुको खतरा रहेका देशहरुमध्ये विश्वका सबैभन्दा बढी दश राष्ट्र एवम् सहरको नाम पनि सार्वजनिक गरेको छ । सो खतराको सूचीमा सबैभन्दा माथि ईजिप्टको राजधानी कायरो, लिबियाको मिसार्ता र पाकिस्तानको दीक्षणी प्रान्त बलुचिस्तान रहेका छन् ।

सो संस्थाले अरब राष्ट्रहरुमा यसवर्ष देखापरेको राजनीतिक अस्थीरता र आन्दोलनका कारण सबैभन्दा बढी पत्रकार त्यहाँ तारो बन्न पुगेका पनि जनाएको छ । पत्रकारहरु पक्राउ पर्ने गरेको वर्षेनी निकालिएको सूचीमा यसवर्ष सबैभन्दा बढी पत्रकार मध्यपूर्वी र अरेबियन राष्ट्रहरुमा रहेको पाइएको पनि जनाएको छ ।

यी क्षेत्रहरुमा विगतका वर्षहरुमा हुने गरेको पत्रकारमाथिको धरपकड एवम् पक्राउको तुलनामा यसवर्ष १६ प्रतिशतले बृद्धि भएको पनि सो संस्थको अनुसन्धानबाट देखिएको समाचारमा जनाइएको छ ।

सो संस्थाको विज्ञप्तिमा यसवर्ष ग्रीस, बेलारुस, युगान्डा, चिली र संयुक्त राज्य अमेरिका नै पत्रकारको पक्राउ र धरपकडमा बढी जिम्मेबार रहेको पनि सो प्रतिवेदनमा जनाईएको छ । विश्वमा गत वर्ष ५३५ जना पत्रकार पक्राउ परेकोमा यसवर्ष यिनै देशहरुका कारण पत्रकार पक्राउ पर्ने संख्या एक हजार ४४ जना रहेको पनि सो प्रतिवेदनमा जनाइएको छ ।

सो खोजीका क्रममा कम्तीमा पनि २० जना पत्रकार मध्यपूर्वमा मात्र मारिएका छन् । साथै यत्तिकै संख्याका पत्रकार ल्याटिन अमेरिकी देशहरुमा पनि मारिएका पाइएको छ ।

यसअघि सबैभन्दा बढी पत्रकार मारिएको देशका रुपमा पाकिस्तान रहेको थियो । गतवर्ष अर्थात सन् २०१० मा पाकिस्तानमा १० जना पत्रकार मारिएको तथ्यांक पनि सोही संस्थाले नै गतवर्ष सार्वजनिक गरेको थियो ।

विश्वका पत्रकारको प्रमुख जेलका रुपमा गतवर्ष चीन, ईरान र ईरिट्रिया रहेका थिए । अहिले पत्रकारहरुको यो जेलको स्थान भने मध्यपूर्वी राष्ट्रहरुले लिएका छन् ।

आइमरीकोष्टको आर्थिक राजधानी अबिद्जान र मेक्सिकोको लागू औषधसम्बन्धी अवैध ओसार पसारका लागि खतरनाक रहेको सहर भेराक्रुज पनि प्रमुख रहेका छन् । रासस/एएफपी