उत्तर कोरियाली दिबंगत नेता किम जोङ ईलका कान्छा छोरा किम जोङ उन सेनाको सर्वोच्च कमान्डर नियुक्त भएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सत्तारुढ दलको रोदोङ सिनमुन पत्रिकाले किम जोङ उनलाई अनन्त विजयका लागि उत्तर कोरियाको नेतृत्व गर्न आग्रह गरेको जनाएको छ । किम जोङ इलको यसै साता ६९ वर्षको उमेरमा निधनपछि उन महान उत्तराधिकारी भएको सरकारी सञ्चारमाध्यमले यसअघि नै जनाएका थिए ।
किम जोङ उनमा राजनीतिक अनुभव कम भएपनि वरिष्ठ अधिकारीहरुले उनलाई बाटो देखाउने विज्ञको अनुमान छ । स्वीट्जरल्याण्डमा अध्ययन गरेका किम जोङ उनलाई गत वर्ष सेनाको चारतारे जर्नेल बनाइएको थियो भने सरकार र सत्तारुढ वकर्स पार्टीको उच्च पद दिइएको थियो ।
दिबंगत नेता किम जोङ इल सन् १९९१ मा सर्वोच्च सैन्य कमान्डर बनेको २० औं बार्षिकीको अवसरमा किम जोङ उनलाई सेनाको सवोच्च कमाण्डर घोषणा गरिएको हो ।